माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल उम्मेदवारीकै कारण सुरुबाटै चर्चामा आयो भरतपुर महानगर । त्यसमा कांग्रेस माओवादीको गठवन्धन, कांग्रेसका मेयर उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ता र कांग्रेस कार्यकर्ताको असन्तुष्टिले थप ततायो भरतपुरलाई । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने एमाले भर्सेस कांग्रेस-माओवादी गठवन्धनको पेचिलो प्रतिस्पर्धालाई तीन दलका अध्यक्षहरुले नै प्रतिष्ठाको विषय बनाए ।
बैशाख २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई लिएर प्रचण्ड मेयरकी उम्मेदवार बनेकी छोरीका लागि भोट माग्न भरतपुर पुगे । यो पूर्व सूचना पाएका एमाले अध्यक्ष केपी ओली पार्टी महासचिवलाई लिएर त्यसको १ घण्टा अघि नै चितवन आए र पोखरा वसपार्कको एमाले सभामा भाषण गरे ।
केही सय मिटरको दुरीमा भएको जनसभामा सम्बोधन गरेका नेताहरुले भरतपुरको चुनावलाई प्रतिष्ठाको विषय बनाए । नेताको प्रतिष्ठाको विषय त छँदै थियो । पोखरा वा काठमाडौंको जस्तो गरी पूर्व नतिजा आकंलन गर्न सक्ने प्रकारको जनमत नदेखिएपछि भरतपुरको गणना झनै ‘हटकेक’ बनेको छ ।
अहिलेसम्मको मतको प्याट्रनलाई हेर्दा कांग्रेसको ५० देखि ६० प्रतिशतको हाराहारीको मत रेणु दाहालले पाएको देखिन्छ । यो मत एमालेले अपेक्षा गरेको भन्दा थोरै बढी हो भने माओवादीले अपेक्षा गरेको भन्दा कम हो ।
दिनेश कोइरालाको उम्मेदवारी फिर्तासँगै देखिएको असन्तुष्टिलाई लिएर कांग्रेस कार्यकर्ताले रेणुलाई भोट नै हाल्दैनन् भन्ने प्रचार र चर्चा दुबै नभएको होइन । तर, मतदानको दिन नजिकिँदै जाँदा भरतपुर एमालेले जित्यो भने भोलिका चुनावहरुमा सिंगो चितवनमा नै कांग्रेसलाई धक्का लाग्छ भन्ने विश्लेषण कांग्रेस नेतृत्वले गर्यो र त्यही सन्देश उसले कार्यकर्ता र समर्थकमा पुर्यायो ।
यसले कांग्रेसकै आक्रोशित मतको बलमा सहजै जितिन्छ भन्ने एमाले अनुमानलाई गलत सावित गरिदिएको छ । तर, रेणुले जित्दा के राजनीतिक लाभ वा हानी हुन्छ भन्ने समीक्षा गर्न कांग्रेस चुकेको देखिन्छ ।
कांग्रेसले अनुमान गरे जस्तै अहिलेसम्मको मत परीणाममा हेर्दा चितवनको करीव आधा भूभागमा एमाले हावी भएको छ । पूर्वी चितवनका सबै नगरपालिकाको नेतृत्व एमालेको पोल्टामा गएको छ । माडी नगरपालिकामा ४४ मतले एमालेले मेयर गुमाएपनि उपमेयर भने भारी मतान्तरले जित्यो । एक मात्र गाँउपालिका इच्छाकामनामा एमाले १९२ मतले मात्रै पराजित बन्यो ।
आफ्नो गढ भनिएको चितवनमा कांग्रेस मेयरबिहीन भएको छ । भरतपुर महानगर कांग्रेसका तर्फबाट उपमेयरको उम्मेदवार बनेकी पार्वती शाहले जित्ने लगभग निश्चित जस्तो भएको छ । तर, चुलिँदा प्रतिस्पर्धाले मेयरमा भने कांग्रेस चितवन पनि ढुक्क हुन सकेको छैन । दुई पार्टी मिल्दा पनि एमालेले मेयर फुत्कायो भने कांग्रेसका लागि यो भन्दा ठूलो राजनीतिक पराजय केही हुने छैन ।
भरतपुर महानगरको मेयर कसले जित्ला भनेर उम्मेदवार वा सम्वन्धित पार्टी मात्र होइन, धेरैको चासो देखिएको छ । सम्वन्धित दलका कार्यकर्ता र शुभेच्छुकहरु त्यो भन्दा कम तनावमा छैनन् । ठाँउठाँउमा बसेर मतको आकंलन र हिसाव गर्दै बसिरहेका भेटिन्छ ।
स्वंय मेयरका उम्मेदवारहरुलाई चाहि कस्तो अनुभव गरिहेका छन् होला ? अनलाइनखबरले मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली र कांग्रेस माओवादी गठवन्धन उम्मेदवार रेणु दाहालको धारणा लिने प्रयास गरेको छ ।
शेरबहादुर र प्रचण्डसँग चुनाव लडिरहेको छुः ज्ञवाली
एमाले मेयरका उम्मेदवार देवी ज्ञवाली मत गणनास्थल नजिकै रहेको नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा आफ्ना जिल्लाका केही सिमित नेताहरुसँग गफिदै गरेको अवस्थामा भेटिए । साथमा थिइन उपमेयर उम्मेदवार दिब्य शर्मा आर्चाय । त्यहाँ निर्वाचनकै बिषयमा समिक्षा भइरहेको रहेछ ।
निर्वाचनको धपेडी र पट्यारलाग्दो मतगणना प्रकृयाबाट थाकेको जस्ता देखिएका ज्ञवालीको निर्वाचन जित्ने आत्मविश्वासमा भने कुनै कमी थिएन ।चुनावी परिणामबारे प्रश्न सोध्दासाथ देवी ज्ञवालीले भने, म निर्वाचनको परीणाम एमालेको पक्षमा आउनेमा अत्यन्तै कन्फिडेण्ट छु । चुनावको प्रतिस्पर्धा तीव्र छ र यो अझै पनि चुलिएको छ । मेरा केही साथीहरु आत्तिएको देख्छु । तर, म किञ्चित बिचलित छैन । किन हो मलाई थाहा छैन, अन्तरआत्माले भनिएको छ म चुनाव जित्छु । म अत्यान्तै आत्मबिश्वासका साथ भन्छु, म निर्वाचन जित्छु ।
उनले अघि भने, एउटा चुनाव त मैले जितिसकें । त्यो के हो भने राज्यशक्तिको समेत प्रयोग गरेर आएका सत्ताधारी दुई प्रमुख पार्टीसँग मैले मुकाविला गरिरहेको छु । राज्यशक्ति लिएर बसेका दुई प्रमुख पार्टीसँगको प्रतिस्पर्धा नै मेरो जित हो । प्रतिस्पर्धामा म अहिलेसम्म अगाडि छु । म एकपटक पनि उहाँहरुको गठवन्धनको तल बस्नुपरेको छैन । दुई ठूला दल मिलेर एउटा दललाई हराउन सजिलै सकिन्थ्यो होला तर, महानगरका जनताले मलाई हराउन त के तल पर्नसम्म पनि दिएका छैनन् । सबैको माया र साथ पाएको छु, भोट पाएको छु । मलाई उर्जा नै मिलेको छ ।
कुराकानीका क्रममा एमाले उम्मेदवार देवी ज्ञवालीले आफ्नो प्रतिस्पर्धी रेणु दाहाल नभएको बताए । उनले प्रष्ट शब्दमा भने, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरिरहेको छु । रेणु जीलाई मेरो भन्नु केही पनि छैन । देवी ज्ञवालीको प्रतिस्पर्धा पुष्पकमल र शेरबहादुरसँग हो, एमालेको प्रतिस्पर्धा कांग्रेस र माओवादीसँग हो ।
त्यसपछि हामीलाई जान्न मन लाग्यो, सुरुवातमा राम्रो अग्रता लिएका देवी घट्दो मतान्तरबारे के सोच्दा हुन् ?
सुुरुवाती गणनाका क्रममा त उनलाई धेरै मतान्तर अर्थात ४ हजार जतिको फरकमा जितिन्छ की भन्ने लागेको रहेछ । भन्छन्, तर त्यस्तो नहुन अवस्था आयो । साविक भरतपुरको कोर एरियाबाट सोचे भन्दा थोरै कम मत आयो । तैपनि जति आयो, त्यो प्रतिस्पर्धात्मक जितका लागी काफी छ ।’
देवी ज्ञवालीले आत्मविश्वासका साथ सुनाए, अब १५ सय देखि १९ सयको वीचमा निर्णय हुन्छ र म त्यो मतले जित्छु ।यस्तो दाबी गर्नुका पछाडि उनको आफ्नै तर्क छ ।
अब मुलत ३ हजार मत भएका वडाहरु गणना गर्न बाँकी छ । एमाले निरन्तर पश्चिम चितवनका जनतासँग भिजेको पार्टी हो । त्यहाँ नागरिकहरुको विवेकको मत मलाई छ । वीपीले भन्नु भएको थियो जब द्धिविधा हुन्छ तब बिवेकको प्रयोग गरेर फैसला गर्नु । हो पश्चिम चितवनका आम मतदाताले पनि विवेकले फैसला गर्नुभएको छ र मलाई बिश्वासको मत दिनुभएको छ । म त्यसलाई खेर जान दिन्न ।
वडा नः २१, २२, २३, २४ वडा हाम्रो प्रभाव राम्रै छ । वडा नः १७ मा पनि राम्रो आउँछ । बाँकी ३ वडामा हाम्रा युवा नेताहरुलाई उठाएका छौं । स्थापित नेताहरु नै चुनाव लडेका छन् । कांग्रेस र माओवादीको ठूलाठूला गढ पार गरेर आएका छौं । जनताले बदलिदो परिवेशलाई आत्मसाथ गरेका छन् ।
कन्फिडेन्ट छु, म चुनाव जित्छुः रेणु दाहाल
देवी ज्ञवालीसँग कुराकानी गरिसकेपछि हामीले कांग्रेसको समर्थन समर्थन पाएकी माओवादी उम्मेदवार रेणु दाहाललाई पनि भेट्यौं ।
हामिकचोक नजिकको एक घरमा आफ्ना केही आफन्तहरुसँग गफिए बसेकी थिइन् रेणु । सम्भावित निर्वाचन परीणाम के होला भन्ने बारेमा त्यति कन्फिडेन्ट नदेखिएपनि रेणुले कुराकानीका क्रममा भने निर्वाचन जित्ने बताइन् । चितवन आएर एमाले केपी ओलीले गरेको टिप्पणी, राजनीतिक एजेण्डा भन्दा पनि व्यक्तिगत टिकाटिप्पणी गरेको भन्दै रेणुले मन दुखाइन् ।प्रचण्ड पुत्री समेत रहेकी रेणुले भरतपुरको मत परिणमप्रति आम मानिसको चासोलाई स्वभाविक मानेकी छन् । राजनीतिक र गठवन्धन दुबै अर्थमा भरतपुरको चर्चा हुनु स्वभाविक भएको उनले बताइन् । भनिन्, ‘टफ कम्पीटिसन’ भएको कारणले गर्दा सबैका ध्यान यता छ ।’
कुराकानीका क्रममा उनले अहिलेसम्म आएको मतको विश्लेषण पनि सुनाइन् ।
शहरी क्षेत्रमा एमालेको प्रभाव राम्रो देखियो । सन्तोषजनक मत कांग्रेसबाट पनि आएन । गठवन्धनका हिसाबले कांग्रेसबाट जति मत आउनुपर्ने हो आएन । तर, निर्वाचन क्षेत्र नः ४ बाट भने कांग्रेसको मत रामै आएको छ । वडा नः १६ एमालेको बाहुल्यता छ भन्न सुनेको छु । अरु वडामा भने हामी लिड गर्दछौं र जित्छौं ।
उनले अघि भनिन्, पहिलो र तेस्रो पार्टीको गठवन्धन हुँदा भारी मतान्तरले जित्छौं भन्ने अपेक्षा थियो तर त्यो भएन ।
यसको कारण सोध्दा उनी भन्छिन्,
हामीसँग जनतालाई बुझाउने प्रयाप्त समय पनि भएन । प्रेसर अति नै भयो । गठवन्धनको औचित्य पुष्टि गर्न सकिएन । तर, पनि कम मतान्तरले जित्छौं । उहाँ (देवी ज्ञवाली)ले सुरुदेखि निरन्तर लिड गरिरहनुभएको छ । त्यसले हल्का स्ट्रेस त दिएकै छ । अव के हुन्छ भन्ने खालको प्रतिस्पर्धा छ । तर, म चुनाव जित्छु । अल्ली बढिको फरकमा जितिन्छकी जस्तो लागेको थियो तर, अब त्यो सम्भव छैन ।
कहिल्यै पनि माओवादी केन्द्रले रुखमा र कांग्रेसले हसिया हथौंडामा मतदान नगरेका कारणले यो समस्या भएको उनको बुझाइ छ । तथापि सामान्य बहुमतले जित हात पार्छु भन्ने रेणुको दाबी छ ।कुराकानीको अन्त्यमा रेणुले आफ्नो सुनाइन्, अबका दिनमा माथिवाट मात्रै गठबन्धन बनाएर तालमेल नहुँदो रहेछ भन्ने सन्देश यसले पनि दिएको छ । आगामी दिनमा शिक्षाका रुपमा यसलाई लिनुपर्दछ ।’
No comments:
Post a Comment