गृहमन्त्री शर्मा नेकपा माओवादी केन्द्रका अहिलेसम्मकै सबैभन्दा सफल मन्त्री हुन् । उनी युद्धकालमा पनि डेपुटी कमाण्डरसम्म बनेका थिए । हक्की स्वभाव, इमानदार तथा लोकप्रिय छवि बनाएका शर्मा ऊर्जामन्त्री बनेपछि मुलुकमा दिनमा १८ घण्टासम्म हुने लोडसेडिङ हटाउन सफल भएका थिए । सो क्रममा विद्युत् चोरी गर्ने, विभिन्न माफिया र भ्रष्टाचारीलाई कारबाही गरेर तह लगाएका थिए ।
अहिले गृहमन्त्री बनेका शर्माले आफूमातहतका निकायमा भएका गलत क्रियाकलाप, भ्रष्टाचारलगायतको भण्डाफोर गर्ने र केही व्यक्ति कारबाहीको भागिदार हुने सम्भावना देखेपछि उनीहरु आत्तिएका हुन् । गृहमन्त्रालयअन्तर्गत नेपाल प्रहरी पनि पर्ने र प्रहरीमा पछिल्लो समय राजनीति, भ्रष्टाचार, सहकर्मीमाथि हिलो छ्याप्ने काम भइरहेको छ । प्रहरीमा यसअघि भएका काला कर्तुतहरु खुल्ने डरका कारण पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल, हालका आईजीपी प्रकाश अर्याल, गृहसचिव लोकदर्शन रेग्मी र आईजीपी अर्यालका मामा तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मालगायत व्यक्तिहरु त्राहिमाम भएको स्रोतको भनाइ छ ।आईजीपी अर्याल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहँदा ३५ किलो सुनकाण्डमा मुछिएका थिए । उनले गलत रुपमा सुराकी खडा गरेर लाभ लिन खोजेको भन्दै सर्वत्र आलोचना पनि भएको थियो । त्यतिमात्र नभएर त्यसबेला लेखा समितिमा पनि त्यो प्रकरण पुगेको थियो । तत्कालीन लेखा समितिका सभापति थिए जनार्दन शर्मा । शर्माले अर्यालमाथि छानबिन र कारबाही गर्नसक्ने प्रक्रियामा पुगेपछि रातारात सांसद किनबेच भएको थियो । समितिमा सभापति शर्मा र नेपाली कांग्रेसका धनराज गुरुङ मात्र कारबाही गर्ने पक्षमा भए । अन्य सांसदहरुको असहयोगका कारण अर्याल कारबाहीबाट बचेका थिए ।
पछि त्यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो । सोही बेलामा नै पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले १ किलो सुन बरामद काण्डमा आफ्नो श्रीमतीलाई नक्कली सुराकी खडा गरेको सम्बन्धमा समेत लेखा समितिमा उजुरी परेको थियो । त्यतिमात्र नभएर उपेन्द्रकान्तको पालामा प्रहरीमा ज्याकेट खरिद काण्ड, हालैमात्र म्यादी प्रहरीलाई धेरै रकम वितरण गरेको देखाएर कम रकम दिएको लगायतका काण्डका कारण विगतदेखि वर्तमानसम्मका प्रहरी अधिकृत तथा गृहका सचिव रेग्मी पनि तानिने सम्भावना रहेको स्रोतको भनाइ छ । इमानदार र सदाचारको स्वभाव भएका शर्मा गृहमन्त्री बनेपछि उनले अवश्य नै कारबाही गर्नेछन् भन्ने डरका कारण उक्त व्यक्तिहरुको निदहराम भएको हो।
स्रोतका अनुसार उनीहरुले शर्मालाई गृह मन्त्रालयमा आउन नदिन भरमग्दुर प्रयास गरेका थिए । उनीहरुले नेपालस्थित भारतीय दूतावासमार्फत गृहमन्त्रीमा शर्माको साटो माओवादीकै कृष्णबहादुर महरा ल्याउन लबिङ गरेका थिए । यसका लागि भारतसँग राम्रो सम्बन्ध बनाएका कांग्रेसका नेता अमरेश कुमार सिंहलाई प्रयोग गरिए पनि उनीहरुको सो प्रयास सफल भएन । स्रोतका अनुसार शर्मालाई भारतीय दूतावासबाट कुरा गर्नका लागि पटकपटक फोन पनि आएको थियो । तर, शर्माले आफू बरु मन्त्री नै नबन्ने तर कसैको प्रभावमा परेर काम नगर्ने मनसायका साथ दूतावासको आग्रहलाई कुनै रेन्स्पोन्स नै नदेखाएको स्रोतको भनाइ छ ।
गृहमन्त्रीमा शर्मा नियुक्त भएपछि सचिव पनि फेरिने र आफ्नो पोल खुल्ने भएकाले कारबाहीबाट बच्न उनीहरुले प्रयास गरेका थिए । आफ्नो प्रयास असफल भएपछि बुधबार गृह मन्त्रालयमा गृहमन्त्री शर्मालाई स्वागत गर्न पुगेका सचिव रेग्मी र आईजीपी अर्याल मलीन मुद्रामा देखिन्थे । गृहमन्त्री शर्माले आफ्नो पहिलो प्रेस सम्मेलनमा नै आफू मातहतका अधिकारीहरुलाई अनावश्यक वक्तव्यबाजी, अन्तर्वार्ता दिन रोक लगाएका छन् । साथै, सिपाहीदेखि जनताको मनोभावनाअनुसार प्रहरी संगठनको कामकारबाही अघि बढाइने भन्दै कडा रुपमा प्रस्तुत भएका छन् । शर्माको कार्यशैलीलाई बुझेका कारण पनि उनीहरुको निदहराम भएको हो।
सुशासन न्युजबाट साभार
No comments:
Post a Comment