दिगोपना,पारदर्शिता, परिपक्वता र उत्कृष्टतालाई बेवास्ता गरी आफ्ना आसेपासेहरुको बलमा राज्य चलाउने धृष्टता बैकल्पिक शक्तिहरुले गर्दैनन्, गर्ने छैनन्। योग्य ब्यक्ति उपयुक्त ठाउँमा हुनुपर्छ भन्ने मान्यतामा बिश्वास गर्छन् ।
तर देशलाई धमिराले जस्तै भित्र भित्रै लुट्नेहरुलाई बैकल्पिक शक्तिहरुले एकाउन्न किलोको माला लगाउँदैनन्, ठग ब्यापारीलाई बिजुली दिई जनतालाई अँध्यारो बेच्नेको प्रशंसा गर्न सक्दैनन्, जात, धर्म र क्षेत्र भाँडेर कुत्सित स्वार्थ पूरा गर्नेको जयजयकार गर्न सक्दैनन्, आफ्ना देशको स्वास्थ्य क्षेत्र तहसनहस पारेर अस्पत्तालहरुको माथिबाट उडेर ज्वरो र खटिरा जचाउन थाईल्याण्ड, अमेरिका र सिंगापुर उड्नेहरुको प्रशंसा गरिरहन सक्दैनन, आफ्नै अस्पत्ताल र डाक्टरहरुको भर नपर्नेले हाम्रा अस्पत्तालहरु राम्रो बनाउन के गर्लान्? यिनीहरुले राज्यकोषबाट खर्च लिएर उपचार गरेको पैसाले दुई चारवटा अस्पत्तालहरु बन्ने थिए होला !
आफ्नो देशको स्वास्थ्य क्षेत्र तहसनहस पारेर अस्पतालहरुको माथिबाट उडेर ज्वरो र खटिरा जचाउन किन थाईल्याण्ड, अमेरिका र सिंगापुर उड्नु हुन्छ नेता ज्यु ?
देशलाई दीर्घकाल सम्म नोक्सान हुने गरी भएका सन्धि सम्झौता र बैदेशिक शक्ति बिच लम्पसार पर्ने प्रबृर्तिलाई बैकल्पिक शक्तिहरु समर्थन गर्दैनन्, आफ्नो पोर्टफोलियो बिर्सेर मध्यरातमा दूतावासमा भोज खान जानेहरुको अघोषित दास बनेर सेवा गर्दैनन्। भ्रष्टाचार,चाकरी,दादागिरी, कालोबजारी,दण्डहीनता, जनता प्रति अनुत्तरदायी सरकार र संस्थाहरुलाई देवत्वकरण गर्दैनन्, तिनीहरुका काला कर्तुतहरु जनताको बिचमा उदाङ्ग पार्न पछि पर्दैनन्।
✍️️सरगम भट्टराई
चारैतिर भ्रष्टहरु हावी भएको माहोलमा केवल नरम कुरा गरेर मात्र पुग्दैन, तिनीहरुलाई तुफानी हस्तक्षेप गर्न जरुरी छ। प्रचलित ऐन क़ानूनको परिधिमा रहेर नागरिकहरुलाई सशक्त खवरदारी गर्दै उनीहरुलाई परिवर्तनको दर्शक हैन, सम्बाहक बनाउनु जरुरी छ। लोकतन्त्रलाई जोकतन्त्र र लूटतन्त्र बनाउनेहरु बिरुद्द बोलेर हैन गरेर देखाउनु जरुरी छ।
हाम्रो दूषित राजनीति हामी राम्रा मान्छे राजनीतिमा नआएसम्म शुद्दिकरण हुन सक्दैन। पूराना पार्टीहरुको मुहान नै प्रदूषित छ, उनीहरुको स्कूलिङ नै गलत र कमजोर छ, पूराना पार्टीहरुमा केही दुई चारवटा राम्रा मान्छेहरु भएपनि तिनीहरुले आफ्नो नेतृत्व पङ्तिमा हस्तक्षेप गर्न सक्दैनन्, संगठनको आन्तरिक लोकतन्त्र निकै कमजोर छ,त्यसैले रोगी बिरुवाबाट स्वस्थ्य फलको आशा नगरौँ ।
बैकल्पिक शक्तिहरुलाई सकारात्मक चिन्तनले सद्भाव गरौँ, यिनीहरुमा सबै खाले पूराना शक्तिहरुले प्रहार गर्न सक्छन् त्यसतर्फ सचेत होऔँ र कमज़ोरीहरु देखिएमा दमदार दवाव दिऊँ ।
परिवर्तन हाम्रै जीवनकालमा हेरेर, भोगेर मर्ने हो तर त्यसका लागि हाउगुजी मात्र गर्ने बाउबाजेका पालाका पार्टीहरु फेरौँ, राजनीतिको वाक्क लाग्दो पूरानै मेनु परिवर्तन गर्न एकपटक सोच्ने बेला भएन र ?
No comments:
Post a Comment