मतपत्र च्यातिएपछि मतगणना कार्य आइतबार मध्यरातबाटै स्थागित भएको छ । माओवादी केन्द्र चितवनले वडा नं. १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएका कारण सो वडामा फेरि मतदान गराउन माग गरेको छ । नेपाली काँग्रेस चितवनले पनि त्यस्तै माग गरेको छ । काँग्रेसले निकालेको विज्ञप्तीमा मतपत्र कस्ले च्यातेको हो भन्ने विषयमा केही उल्लेख छैन। भरतपुरमा माओवादी र काँग्रेसबीच चुनावी तालमेल छ ।
नेकपा (एमाले) चितवनले भने सोमबार बिहान भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर मतपत्र च्यात्ने काम माओवादीले गरेको आरोप लगाएको थियो । एमालेले पुनःनिर्वाचनको साटो मत गणना कार्य तत्काल सुरु गर्न माग गरेको छ । एमालेले सोमबार दिउँसो भरतपुरमा विरोध सभा आयोजना गरेर आइतबार मध्यरातमा भएको घटनाको विरोध पनि गरेको थियो।
‘एमालेका मतगणना प्रतिनिधि कृष्णराज न्यौपाने लब्ली, गणेश लामा, आश्वीन घिमिरे र प्रकास ढुंगना लगायतले मतपत्र कब्जा गरी च्यात्न लागेपछि हाम्रो पार्टीका मत गणना प्रतिनिधि द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेले मतपत्र रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिन पुगे’ माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।
वास्तविकता यस्तो भए पनि बङ्ग्याएर एमालेले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट माओवादी विरुद्ध गलत प्रचार गरेको माओवादीको भनाइ छ । इन्चार्ज भट्टराईले पक्राउ गरेका सिवाकोटी र न्यौपानेको रिहाइको माग गरेका छन् । माओवादीले सम्वन्धित मतदान केन्द्रमा तत्काल मतदान गर्न पनि निर्वाचन आयोगसँग माग गरेको छ ।
त्यस्तै नेपाली काँग्रेस चितवनले पनि पुनः मतदान गर्न आयोगसँग माग गरेको छ । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले निकालेको प्रेस विज्ञप्तीमा मतगणना प्रकृयालाई व्यवस्थित गर्न नसक्दा यस्तो घटना भएको उल्लेख छ । काँग्रेसले घटनाको सत्यतथ्य जनता माझ ल्याउन र दोषिलाई कारवाही गर्न माग गरेको छ ।
No comments:
Post a Comment