ओलीलाई प्रचण्डको जवाफः सपनाको क्रान्ति होइन, उपलब्धिको क्रान्ति चाहियो - The Pride

Latest

BANNER 728X90

Wednesday, May 24, 2017

ओलीलाई प्रचण्डको जवाफः सपनाको क्रान्ति होइन, उपलब्धिको क्रान्ति चाहियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपना देखेर मात्रै नहुने बरु उपलब्धिहरु हासिल गर्नुपर्ने बताएका छन्। बुधबार देशवासीका नाममा सम्बोधन गर्दै दाहालले अघिल्लो सरकारले सपनाको क्रान्ति गरेको र आफूले उपलब्धिहरु हासिल गरेको दाबी गरे।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले भने, 'सपनाको क्रान्ति हामीले धेरै गर्‍यौं, अब हामीलाई उपलब्धिको क्रान्ति चाहिएको छ।'

प्रमुख प्रतिपक्षी दल र त्यसका नेता केपी शर्मा ओलीको नाम नलिइकन उनले संसदबाट आफूलाई गरिएका प्रश्नहरुको जवाफ दिएको बताए।

‘जब म प्रधानमन्त्रीको उम्मेदवार थिएँ, एकथरी साथीहरुले संसदमा मलाई उत्तेजनापूर्वक सोध्नुभएको थियो, ‘फास्ट ट्रयाक के हुन्छ ? ओबीओर के हुन्छ ? हुलाकी मार्ग के हुन्छ ?’ ती प्रश्न गलत थिएनन्। तर, सोध्नेहरुको नियत सही थिएन। त्यो प्रश्नमा अविश्वास थियो, चुनौती थियो। आफैंमाथि विश्वास नभएपछि मान्छेलाई अरुमाथि पनि विश्वास नहुँदो रहेछ। फास्ट ट्रयाकलाई लिएर त सरकारमाथि नियोजित दुष्प्रचारको अभियान नै चलाइयो। आज म यो सम्बोधनबाट जवाफ दिँदै छु-

अहिलेसम्म केवल राजनीतिक दाउपेचको विषय भएको र कसैको खास प्राथमिकतामा नपरेको फास्ट ट्रयाक अब बन्ने ग्यारेन्टी भयो। राजधानी र तराईबीचको दू्रत मार्ग अब सुनिश्चित भयो। केही दिनमै म त्यसको शिलान्यास गर्दैछु र नेपाली सेनाले बनाउ“दै छ। मधेश–तराईको समग्र अर्थतन्त्र र जनजीवन नै बदल्ने दुरगामी महत्वको हुलाकी मार्ग पनि अहिले सबैभन्दा तीव्र गतिमा बनिरहेको छ।

यो विषय मैले भारतका प्रधानमन्त्रीसँग प्रत्यक्ष रुपमै अत्यन्त प्राथमिकताका साथ उठाएपछि नै हुलाकी मार्ग निर्माणले तीव्रता पाएको हो। अब तराई–मधेशको आर्थिक र सामाजिक जीवनमा कायापलट हुँदै छ। खानेपानी, सडक र अन्य पूर्वाधारका क्षेत्रमा पनि सरकारका उपलब्धि उल्लेखनीय छन्। काकाकूल राजधानीले वर्षौंदेखि देखेको मेलम्चीको पानीको सपना अब दशैंअघि नै पूरा हुने भएको छ।

निर्णय पटकपटक भएको तर कार्यान्वयनमा नआएको नागढुङ्गा नौबीसे खण्डको सुरुङ मार्ग बन्ने सुनिश्चित भएको छ। काठमाडौं सेटलाइट मेगासिटीको तयारी गरी व्यवस्थित शहरीकरणको मोडेल अघि सारिएको छ। मुलूकका १७ शहरमा ‘एक शहर एक पहिचान कार्यक्रम’, रुकुमकोट, लिवाङ्गमा ‘स्मार्ट शहर’, निजगढ, पालुङ्गटार, लुम्बिनी, दुल्लु, वालिङ्ग, अमरगढी, पोखरा, धरान, बिराटनगर र काठमाडौं लगायत १३ वटा स्थानमा ‘मेगासिटी’को कार्य प्रारम्भ गरिएको छ।

विगतमा सधैं केन्द्रमा बस्ने र निर्देशन मात्र दिने तर आयोजनाको वास्तविक अवस्था कहिल्यै नबुझ्ने नराम्रो परम्परा बस्यो। तर, मैले विकास निमाणलाई उच्च प्राथमिकता दिई राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनलाई तीब्रता दिन र आइपरेका समस्याहरुको तत्कालै समाधान गर्न आफैले आयोजनाहरु अनुगमन, निरीक्षण र निर्र्देशन गरेँ। समयअगाबै गुणस्तरीय काम सम्पन्न गर्ने आयोजना र कर्मचारीहरुलाई पुरस्कृत गर्ने घोषणापछि पहिले धेरै नै सुस्त रहेका कैयौं आयोजनाहरु छिटै सम्पन्न हुने दिशामा छन्।

No comments:

Post a Comment