साडीमा सजिएर गइन् रञ्जु विद्यासुन्दरको सपथमा - The Pride

Latest

BANNER 728X90

Wednesday, May 31, 2017

साडीमा सजिएर गइन् रञ्जु विद्यासुन्दरको सपथमा

राष्ट्रिय सभागृहमा आयोजित उक्त समारोहमा सुनौलो बुट्टेदार नीलो रङको साडी र नीलै रङको ब्लाउजमा उपस्थित रञ्जु निकै खुलेकी थिइन्। उनको निधारमा नीलै रङको मसिनो टीका पनि थियो।

घाँटीमा चाँदी रङको मसिनो सिक्री लगाएकी रञ्जु आफ्नो चिरपरिचत छोटो कपालमा थिइन्। उनले काँधमा नेपाली ढाकाको झोला भिरेकी थिइन् भने हातमा मोबाइल थियो। विवेकशील नेपाली दलबाट २१ वर्षकै उमेरमा काठमाडौं मेयरमा उम्मेदवारी दिएकी रञ्जु यस्तो औपचारिक पोसाक लगाएर सार्वजनिक समारोहमा पहिले कहिल्यै देखिएकी थिइनन्।

विगतमा जतिबेला उनी डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनमा ऐक्यबद्धता जनाउँदै भ्रष्टाचारविरुद्ध सडकमा नारा लगाउँथिन्, उनले प्रायः कालो वा सेतो टिसर्ट र कालो वा नीलो रङको जिन्स प्यान्ट लगाएकी हुन्थिन्। त्यतिबेला त अझ उनको कपाल अहिलेको भन्दा छोटो थियो। अनौपचारिक ढंगमा सडकमा ओर्लेर सयौं प्रदर्शनकारीलाई नेतृत्व गरेकी रञ्जु त्यही घटनाबाट चर्चामा आएकी हुन्।

काठमाडौं मेयरको उम्मेदवारी घोषणापछि भने उनको लवाइ हल्का परिवर्तन भयो। उनले टिसर्ट र प्यान्ट लगाएर सार्वजनिक कार्यक्रममा उपस्थित हुन बन्द गरिन्। चुनावी सभामा सम्बोधन गर्न जाँदा होस् वा घरदैलोमा हिँड्दा, उनी आफ्नो परिचित अनौपचारिक पहिरनबाट कुर्ता सुरुवालमा देखा पर्न थालिन्। यतिबेलासम्म उनले आफ्नो कपाल पनि हल्का बढाइसकेकी थिइन्।

मेयरको मतगणना क्रममा लगातार तेस्रो स्थानमा रहेर धेरैलाई छक्क पारेकी रञ्जुले आफू पराजित भए पनि एमालेका निर्वाचित मेयर शाक्यलाई सार्वजनिक रूपमै बधाइ दिएर सौहार्दता देखाएकी थिइन्। यति कम उमेरमै यति ठूलो स्तरको निर्वाचनमा होमिएकी उनको लवाइ सँगसँगै प्रस्तुति र शैली पनि परिपक्व हुँदै गएको भान हुन्छ।

काठमाडौं मेयर निर्वाचनमा रञ्जुले २२५४९ मत ल्याएकी थिइन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजुराज जोशीको मत ४८१९८ थियो भने एमालेका शाक्य ६८९६१ मत ल्याएर विजयी भएका हुन्।

-सेतोपाटी बाट साभार गरिएको

No comments:

Post a Comment