तुलसीपुर नगरपालिका वडा नम्बर–३ को आम्वासमा रहेको मतदान केन्द्रमा बुधबार अज्ञात समूहले बम फालेको थियो ।
नेपाल प्रहरीका साहसी हवल्दार दुर्गाबहादुर रानाले उक्त बम केही सेकेन्डमै जहाँबाट आएको हो, त्यहीँ फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाए ।
‘बिहान वरपर कुहिरो लागेको थियो, म मतदान केन्द्रको सुरक्षाका लागि खटिएको थिएँ, धुवाँ उड्दै एउटा डल्लो वस्तु मेरो अगाडि पर्यो र मैले झटपट टिपेर जहाँबाट आएको हो, त्यही फ्याकीदिएँ, अनि ठूलो आवाजमा पड्कियो’–हवल्दार रानाले भने ।
उनकाअनुसार बिहान करिब ९ः३० बजेको समयमा मतदान केन्द्रलाई लक्ष्य गरी उत्तरतर्फबाट बम प्रहार भएको थियो ।
रानाले भने–‘मलाई तालिममा सिकाइएको थियो, बम कस्तो र कतिबेला पड्कन्छ भनेर । सोहीअनुरुप मैले बम छोपेर फालेको हुँ ।’
उनले बम पड्केर हुने क्षतिबाट सबैलाई बचाउन पाउँदा आफूलाई गर्व लागेको बताए ।
यसैबीच, गृहमन्त्री जनार्दन शर्मा र प्रहरीका उच्च अधिकारीले साहसिक काम गरेको भन्दै हवल्दार रानालाई टेलिफोन गरेर धन्यवाद दिएका छन् ।
गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्नेसमेत घोषणा गरेका छन् ।
सल्यानको शारदा नगरपालिका–१ निवासी राना २०६० सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । रासस
No comments:
Post a Comment