दाङको तुलसीपुर नगरपालिका वडा नम्बर ३ श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रको जिम्मा प्रहरी नायव निरीक्षक गोपाल शर्माले पाउनुभयो । उहाँ जिल्ला ट्राफिक कार्यालय जाजरकोट चुनावका लागि त्यहाँ आउनुभएको हो । उहाँको साथमा ५ जना प्रहरी र ६ जना म्यादी प्रहरी गरी १२ जनाको टोली थियो । जहाँ अहिले बम पक्रिएर सर्वत्र चर्चा पाउनुभएका प्रहरी हबल्ल्दार राना पनि हुनुहुन्थ्यो । ‘१२ जनाको सुरक्षा टोलि लिएर म एक हप्तादेखिनै त्यस क्षेत्रमा खटिएको थिएँ । यो अतिसंवेदनशील क्षेत्र मानिन्थ्यो’ प्रहरी नायव निरीक्षक शर्माले उज्यालो अनलाइनसँग भन्नुभयो ‘मैले त्यसै अनुसार सुरक्षा तयारी गरेको थिएँ ।’
पालैपालो रातदिन २४ सै घण्टा त्यस मतदान केन्द्रको सुरक्षा दिइएको थियो । बुधबार मतदान गर्ने दिन बिहानैदेखि सुरक्षा व्यवस्था अझ मजबुद बनाइएको थियो । कडा सुरक्षाकैबिच बिहान साढे ९ बजे दाङको तलसीपुर नगरपालिका वडा नम्बर ३ श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बासमा एकाएक बम फालियो । ‘लाइनमा बसेका मतदाता भन्दा अघि म थिएँ’ बम पक्रिने प्रहरी हबल्दार रानाले भन्नुभयो ‘मतदाता अगाडि खसेको बम च्याप्पै समाएर घारीतिर फालिदिएँ ।’ प्रहरी हबल्दार रानाले उज्यालो अनलाइनसँग कुरा गर्दै भन्नुभयो । बिहानै हुस्सु लागेको थियो टाढाको मानछे देख्न सक्ने अवस्था पनि थिए । त्यस्तै वरपर घारी थियो बम कस्ले फाल्यो पत्तै पाइन ।’ हबल्दार रानाले भुँइमा खस्ने बित्तिकै समाएर घारीतिर फालेको बम त्यसको दुई तीन सेकेण्डमै पड्किएको थियो । उहाँले आफू नागरिकलाई सुरक्षा दिन खटिएकाले आफ्नो जिम्मेवारी पूरा गर्न जोखिम मोलेर बम फालेको जानकारी दिनुभयो ।
प्रहरीलाई अविर जात्रा
बम समाएर फालेको सई गोपाल शर्माको टोली र प्रहरी हबल्दारको प्रंशास भयो । मतदान गर्न आएका नागरिकले जोखिम मोलेर बम फाली नागरिकको ज्यान जोगाएको भन्दै अविर जात्रा नै गरेको सई शर्माले जानकारी दिनुभयो । स्थानीय बासिन्दा खुसी भएर प्रहरीको प्रशंसा गरेका थिए । त्यस्तै प्रहरी हबल्दार रानालाई स्थानीय बासिन्दाले बोकेर मतदान केन्द्र वरपर घुमाएका थिए । उनीहरुले फूल, माला अबिर लगाएर सम्मान गरेका हुन् ।
बम फाल्नेले स्कूलको ड्रेस लगाएका थिए
कडा सुरक्षाका बिच मतदान केन्द्रमा बम फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । हुस्सु लागेको र वरपर झाडी भएकाले बम फाल्नेको पहिचान हुन नसकेको सई शर्माले जानकारी दिनुभयो । यद्यपी घटनाको अनुसन्धानबाट केही कुरा भने खुलेको सई शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बम फाल्न दुईजना १६/१७ वर्षका युवक आएका थिए । स्कूलको ड्रेसमा आएका उनीहरु बम फालेर भागेका थिए । घटनास्थलबाट तीन किलोमिटर पर उनीहरु भाग्दै गरेको देखेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सई शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । स्कुले विद्यार्थीको प्रयोग गरेर कसैले फाइदा लिन खोजेको प्रहरीले जनाएको छ ।
माओवादी कार्यकर्ताले फोन लगाए गृहमन्त्रीलाई
बम पक्रिएपछि सर्वत्र चर्चा बटुलेका प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई स्थानीय बासिन्दाले बधाई मात्रै दिएनन् । गृह मन्त्री जनार्दन शर्मासम्मलाई फोन लगाउन भ्याए । ‘हामीले गृहमन्त्रीलाई फोन गर्छौ, तपाईले राम्रो काम गर्नुभएको छ’ भन्दै उनीहरुले गृहमन्त्रीलाई फोन लगाएको सई शर्माले बताउनुभयो । फोन गर्नेहरु स्थानीय माओवादी केन्द्रका कार्यकर्ता थिए । मन्त्री शर्माले फोनमा बम पक्रिने प्रहरी हबल्दारसँग कुराकानी गर्नुभएको थियो । कुराकानीमा उहाँले सुरुमा साहसिक काम गरेको भन्दै हबल्दार रानालाई बधाई दिनुभएको थियो । ‘गृह मन्त्रीले मलाई बधाई दिनुभयो त्यसपछि गर्नु पर्ने जति तपाईलाई गरौंला भन्नुभयो’ प्रहरी हबल्दार रानाले भन्नुभयो ।
को हुन् हबल्दार दुर्गाबहादुर ?
दाङको सल्यान घर भएका हबल्दार दुर्गाबहादुर राना २०६० सालमा प्रहरी जवानमा भर्ना हुनुभएको हो । एसएलसी पास हबल्दार अहिले प्रहरी पहरा गण काठमाडौंमा कार्यरत हुनुहुन्छ । उहाँ गएको वर्ष हबल्दारमा बढुवा हुनुभएको हो । उहाँले भिड नियन्त्रण सम्बन्धी आधारभूत तालिम लिनुभएको छ । प्रहरीमा कुनै कारबाही नभोगी राम्रो छवी बनाएको प्रहरी कर्मचारीका रुपमा हबल्दार राना चिनिनुहुन्छ । -उज्यालो अनलाइनखबरबाट
No comments:
Post a Comment