नमस्कार !
राजधानी काठमाडौंमा केही समय अलि ठूलै वर्षा भएको यहाँले पनि सायद थाहा पाउनुभयो होला । वर्षा रोकिएपछि स्कुलबाट घर फर्किन वसुन्धराबाट सुरु भएको जाम छिचोलेर माछापोखरी, बालाजु पुग्न मोटरसाइकलमा झन्डै एक घन्टा लाग्यो । सामान्यतः यो ५ देखि ७ मिनेटमा पार हुने दूरी हो ।
.
मुस्किलले घर पुग्दा सामाजिक सञ्जालमा एउटा भिडियो आइरहेको देखियो । जसमा सोही क्षेत्रमा स्कुलबाट घर फर्किंदै गरेकी मैजत्री एउटी सानी साथी सामाखुसीमा रहेको एउटा ढलको ह्युमपाइपभित्र छिरेर बगेको कहालीलाग्दो दृश्य कैद भएको थियो । भिडियो देख्दा एकछिनसम्म त मेरो शरीर थर्र काँपिरह्यो । खुट्टा लुला भए । त्यो ह्युमपाइपमा मै पनि त पर्न सक्ने थिएँ । किनकि, म पनि भर्खरै सोही क्षेत्रको सडकको जाम मुस्किलले छिचोलेर घर पुगेकी थिएँ ।
हो, बर्खामासमा वर्षालाई कसैले रोक्न सक्दैन । अलि ठूलो वर्षा हुँदा सडकहरू जलमग्न हुन पनि सक्छन् । यस्ता दृश्य हामीले विकसित देशका ठूला र व्यवस्थित सडकहरूमा पनि टेलिभिजन र इन्टरनेटमार्फत देख्ने गरेका छौँ । यसलाई अन्यथा सोच्न सायद हुँदैन पनि । तर, के यसरी त्यस्ता ह्युमपाइप, जसमा पसेर हामीजस्ता बालबालिकाहरू बेपत्ता नै हुन सक्ने अवस्था छ, तिनको मुख राम्ररी बन्द गर्ने, गहिरा खाल्टाखुल्टी पुर्ने र पानीको निकास राम्रो बनाउने काम पनि गर्न सक्नुहुन्न तपाईंहरूले ?
धन्न त्यो ह्युमपाइपको मुखनजिकै अर्को स्थानमा पनि खुला रहेछ र ती साथीलाई सकुशल बाहिर निकाल्न सकियो । यदि त्यो ह्युमपाइप केही गरी बीचमै जाम भइदिइएको भए अथवा अलिक लामो दूरीसम्म ह्युमपाइपको मुख खुला नभएको भए ती साथीको अवस्था के हुँदो हो ? अहिले सम्झँदा पनि कहाली लागेर आउँछ ।
आदरणीय मेयरसाब, तपाईं हाम्रै अभिभावकहरूको मतबाट निर्वाचित हुनुहुन्छ । तपाईंमाथि हामी जनताको ठूलो आशा, भरोसा र विश्वास पनि छ । त्यसैले, तत्काल अब सडकमा जानुहोस् र त्यस्ता एम्बुसरूपी सडकका प्वालहरू थुन्नुहोस् । तिनको मर्मत गर्नुहोस् र त्यस्ता ज्यानमारा ह्युमपाइपको एम्बुसमा पर्नबाट हामीलाई जोगाउनुहोस् ।
हुन त यो सब तपाईंको कार्यक्षेत्रभित्र पर्ने हो कि होइन, मलाई थाहा भएन । तैपनि, तपाईंमाथिको भरोसाले यो खुला पत्र लेखेकी हुँ । के हामीजस्ता कलिला बालबालिका तपाईंका तत्कालका भोटर होइनौँ भन्दैमा हाम्रो ज्यानको मूल्य नै हुन्न र मेयरसाब ? के हामीले ढुक्क भई स्कुल जान र आउन पाउँदैनौँ र मेयरसाब ?
युथिका खनाल, मोक्षदा स्कुल
कुमारीगाल, काठमाडौं
नयाँ पत्रिकाबाट
No comments:
Post a Comment