रेस्टुरेन्टमा काम गर्दागर्द गेस्टसँग धेरै पटक बिनाकन्डम यौनसम्पर्क गरें .... - The Pride

Latest

BANNER 728X90

Tuesday, July 18, 2017

रेस्टुरेन्टमा काम गर्दागर्द गेस्टसँग धेरै पटक बिनाकन्डम यौनसम्पर्क गरें ....

रेस्टुराँमा काम गर्दागर्दै पनि अध्ययनलाई निरन्तरता दिनुभएको कुराले खुसी बनाएको छ, तर आफूले गर्ने काममा आवश्यक सावधानी र सुरक्षा अपनाउन नसक्दा केही समस्या परेजस्तो बुझिन्छ । तपाईंको जिज्ञासाको जवाफ दिनुभन्दा पहिले तपाईंको काम र त्यसले पार्न सक्ने प्रभावका बारेमा केही चर्चा गरौं ।

तपाईंले गरेको काम के होला ?
रेस्टुराँ अर्थात् चमेना घरमा काम गर्ने भए पनि तपाईंले काम गर्ने ठाउँ चमेनाघर नभै त्यसको आडमा अन्य केही काम भएको वा गराइएको देखिन्छ । चमेनाघरको सेवामा नपर्ने भए पनि तपाईंले पाहुनासँग धेरै पटक यौनसम्पर्क राखेको कुरा गर्नुभएको छ । तपाईंले आफूनै इच्छाले त्यसरी पाहुनाहरूसँग यौनसम्पर्क राख्नुभएको हो वा कसैको दबाबमा जानकारी भएन । यदि दबाबमा हो भने यो यौन हिंसा भएकाले त्यतातिर पनि ध्यान पुर्‍याउनुपर्छ । पैसा र अन्य वस्तु लिएर यौन (सम्पर्क) सेवा दिनु देहव्यापार हो । आफूलाई थाहा भएर होस् वा अन्जानमै तपाईं बिस्तारै यौन पेसाकर्मी बन्न पुग्नुभएजस्तो लाग्छ । यसका आ–आफ्नै असर छन् । तपाईंलाई यो क्षेत्रमा आउनुपर्ने बाध्यता वा रहर किन भयो, थाहा भएन ।

के भएको होला ?
तपाईंले लेख्नुभएको जानकारीका आधारमा योनिमा संक्रमण भएजस्तो बुझिन्छ जुन प्रजनन अङ्ग वा यौनरोग लाग्दा हुन्छ । असुरक्षित यौनसम्पर्कपछि यस्तो देखिए शंका गर्नुपर्छ र पक्का थाहा पाउन परीक्षण गराउनुपर्छ । कन्डमको प्रयोगबिना यौनसम्पर्क गर्दा तपाईंमा रोग सरेको हुनसक्छ । यही क्रममा तपार्इंबाट पनि अरू कति जनालाई रोग सरिसकेको हुनुपर्छ । योनिको संक्रमण हुँदा अस्वभाविक योनि श्राव हुने, चिलाउने तथा दुख्ने हुन्छ । अस्वभाविक योनिश्राव हुँदा सामान्य रूपमा योनिबाट आउने श्रावभन्दा धेरै बढी मात्रामा गन्हाउने वा मैलो किसिमको पानी आउँछ ।

ब्याक्टेरियल भ्याजिनोसिस : योनिमार्गमा हुने गार्डनेरेला भनिने जीवाणु अत्यधिक रूपमा बढ्न गै सिर्जना हुने यस्तो अवस्थामा माछाको जस्तो गन्हाउने पानी आउँछ, जुन यौनसम्पर्कपछि वा महिनावारी पछि अझ स्पष्ट रूपमा
देखा पर्छ ।

क्यान्डिडियासिस : यो क्यान्डिडा एल्विकान्स भनिने एक प्रकारको ढुसीको संक्रमणले हुन्छ । थोरै मात्रामा यो योनिमा हुने भए पनि विशेष गरेर ग्लुकोजको मात्रा वृद्धि भएको तथा योनिमार्ग बढी अम्लीय भएको बेला चर्को हुन्छ । यसमा एकदमै चिलाउँछ । योनिश्राव बाक्लो, सेतो र चीजजस्तो हुन्छ र कतिपयले यसलाई दही जस्तो पनि भन्छन् । माछाको जस्तो गन्ध आउन सक्छ । यौनसम्पर्कमा पनि पीडा हुनसक्छ । महिनावारी भएका बेला यसका लक्षण कम हुन्छन् ।

ट्राइकोमोनियासिस : ट्राइकोमोनास भ्याजिनालिसको संक्रमणमा चिलाउने नै प्रमुख लक्षण हुन्छ । बाक्लो योनिश्राव हुन्छ र हरियो, पहेंलो वा क्रिम किसिमको हुनसक्छ वा फिँजजस्तो हुन्छ । योनि तथा भग क्षेत्रमा तथा पिसाब फेर्दा पीडा हुनसक्छ । चिलाउने र योनिश्राव महिनावारी सकिना साथ वृद्धि हुन्छ । गोनोरिया भएको छ भने पहेंलो किसिमको योनिश्राव हुनसक्छ र योनि रातो वा सुन्निएको हुनसक्छ । योनि चिलाउने वा पोल्ने पनि हुनसक्छ । क्लामाइडिया भनिने रोग लाग्दा पनि अत्यधिक योनिश्राव हुन्छ ।

ट्राइकोमोनियासिस, गोनोरिया तथा क्लामाइडिया यौनसम्पर्कका कारणले सर्ने भएकाले यी सबै यौन रोग हुन् । अर्को विचार गर्नुपर्ने कुरा के हो भने कतिपय परिस्थितिमा यसको लक्षण नै नदेखिन सक्छ । आफ्नो यौनसाथी अर्थात् पाहुनामा लक्षणहरू देखिएका छ कि छैनन् त्यसमा ध्यान दिनु जरुरी छ । यस्ता लक्षण तुरुन्तै पनि देखा पर्न पनि सक्छन् भने कहिलेकाहीँ हप्तौं वा महिनौं पनि लाग्न सक्छ । यी लक्षण देखा परेर हराएजस्तो भए पनि सतर्क रहनुपर्छ, किनभने रोग भित्रभित्रै सल्किरहेको हुनसक्छ ।

यसको हल के होला ?
कतिपय यौनरोगको उपचार छ र त्यो निकै सजिलो पनि छ । यौनरोगको समयमै उपचार नगर्दा त्यसका गम्भीर जटिलता सिर्जना हुन सक्छन् । त्यसैले सक्दो चाँडो उपचार गराइहाल्नुपर्छ । कुनै पनि लक्षण देखा पर्नासाथ चिकित्सकसँग सल्लाह लिनुपर्छ । तपाईं कुनै पनि अस्पताल, स्वास्थ्यकेन्द्र वा चिकित्सकको निजी क्लिनिकमा जान सक्नुहुन्छ । चिकित्सकको सल्लाहअनुसार ठीक मात्रामा पूरा समय औषधी खानु आवश्यक छ । चिकित्सकसँग कुराकानी गर्दा आफू संलग्न भएको कुनै पनि जोखिमपूर्ण यौन व्यवहारका बारेमा नलुकाई भन्नुपर्छ ताकि उपचार गर्न सजिलो होस् ।

अब के गर्ने ?
यो पेसामा लाग्दा खानपान, नाचगान अनि यौन आनन्द त होला र यसबाट प्राप्त हुने पैसा वा धनले गर्दा जीवन केही सजिलो पनि भएको होला, तैपनि नेपालमा देहव्यापारलाई राम्रो मानिँदैन । यसमा धेरै नै हेला अनि तिरस्कारको सामना गर्नुपर्छ । आफूले गर्ने कामका बारेमा पनि निर्धक्कसँग खुलेर कुरा गर्न सकिँदैन । कसैले थाहा पाउला भनेर एक किसिमको त्रासमा बस्नुपर्ने हुन्छ । तपाईंले अनुभव गर्नु नै भएको होला कि यी कुराले जीवन गुणस्तरीय हुन दिँदैन । तपाईंले सबै बुझेर नै यो सब गर्नुभएको हो भने त कुरा अर्कै हो, तर आफ्नो सम्पूर्ण जीवनलाई हेर्नुभयो भनेचाहिँ यही पेसालाई निरन्तरता दिने कि जीवन जति नै कठिन भए पनि अध्ययन एवं वृत्तिविकासमै ध्यान केन्द्रित गर्ने विचार पुर्‍याउनुपर्छ । – कान्तिपुर साप्ताहिकबाट साभार गरिएको

No comments:

Post a Comment